काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा गृह मन्त्रालयले हालै लोकसेवा आयोग पास गरेका ४५ जना शाखा अधिकृतहरू खटाएको छ। तीन दिने तालीमपछि उनीहरू सोमबारदेखि औपचारिक रूपमा कार्यभारमा परिचालित भएका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छनोट गरी गृह मन्त्रालयमा पठाएका अधिकृतहरूलाई अध्यागमन कार्यालयमा खटाइएको हो। सोही सङ्ख्यामा पहिले कार्यरत शाखा अधिकृतहरूलाई मन्त्रालयले फिर्ता बोलाएको छ।
गृह मन्त्रालय स्रोतका अनुसार विमानस्थलको अध्यागमन कार्यालयलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यसहित युवा अधिकृतहरूको टोली खटाइएको हो। यी अधिकृतहरूको आगमनसँगै अध्यागमन कार्यालयमा प्रशासनिक सशक्तीकरण हुने अपेक्षा गरिएको छ।
विमानस्थल अध्यागमन कार्यालयले अन्तर्राष्ट्रिय आगमन र प्रस्थान जस्तो संवेदनशील जिम्मेवारी निर्वाह गर्दै आएको छ। नयाँ अधिकृतहरूको व्यवस्थापनको जिम्मा लिएका सहसचिव सुरुवा घिमिरे नेतृत्वमा अहिले समायोजनको प्रक्रिया अघि बढाइएको छ।
घिमिरे यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ताको रूपमा कार्यरत अनुभवी प्रशासक हुन्। उनका अनुसार नयाँ अधिकृतहरूको आगमनले अध्यागमन सेवामा थप सुधार र पारदर्शिता ल्याउने विश्वास लिएको छ।