काठमाडौं । पृथ्वीजयन्तीका अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम आयोजना गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने लगाएतका विभिन्न राजनीतिक दलका शीर्ष नेता सहभागी भएका थिए।
त्यस्तै चियापान कार्यक्रममा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ विभिन्न राजनीतिक दलका नेता एवं कार्यकर्ता, सर्वसाधारणलगायतको सहभागिता थियो।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताले सहभागी विशिष्ट पाहुनालाई स्वागत गरेका थिए। चियापान कार्यक्रमपछि लिङ्देनले मुलुकलाई एकताबद्ध गर्नेको सम्मान गर्दा कसैले हिनताबोध गर्न नहुने बताए। फरक प्रसंगमा उनले कोशी प्रदेशको सभामुखमा राप्रपा गएको विषयमा पार्टीभित्र विभिन्न मत देखिएको भन्दै पार्टीभित्रै छलफल गरेर उचित निर्णयमा पुगिने बताए।
उनले पार्टीले अघिसारेका विभिन्न एजेण्डा र मागमा दबाब दिन फागुनदेखि राजधानी केन्द्रित आन्दोलन गर्ने उल्लेख गरे। राप्रपाले प्रत्येक वर्ष राष्ट्रिय एकता दिवसका अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएको छ।