राजेन्द्र प्रजापती
काठमाडौं । लमजुङ घर भइ हाल साउदी बस्दै आएका कमल घिमिरेलाई चितवन बस्दै आएकी छोरीलाई जाडोमा न्यानो कपडा किन्दिन मन लाग्यो । उनले साउदीबाटै अनलाइनमा राखिएका कपडाहरु हेरे र आफुलाई मन पर्ने कपडा पनि रोजे । सुमन नाम गरेको फेसबुक पेजमा धेरै कपडाहरु राखिएका थिए ।
उनले सामान डेलिभरीपछि मात्र पेमेन्ट गर्ने भनेपनि उक्त पेज चलाउने मान्छेले मानेनन् । अन्तमा कमलले साउदीबाटै ९८१९२५३४३७ नम्बरका बिजय ताम्राकार नाम गरेका व्यक्तिलाई इ सेवामार्फत ६ हजार २ सय रुपैयाँ पठाइदिए ।
पैसा पेमेन्ट गरेको ४८ घण्टामा सामान सम्बन्धित व्यक्तिलाई पुग्ने भनेपनि पेमेन्ट गरेको १५ दिनसम्म पनि सामान पुगेको छैन । उक्त पेज पनि डिलेट भइ सकेको छ ।
उक्त व्यक्ति सम्पर्कमा नआएपछि कमल आफु ठगिएको महसुस गरे । र घरपरिवारलाई चितवन प्रहरीमा उक्त फोन नम्बरका व्यक्ति ताम्राकारविरुद्ध उजुरी हाल्न लगाएका छन् ।
यो त केहि प्रतिनिधि घटना मात्र हो । तर पछिल्लो समय अनलाइन ठगीका घटना बढ्न थालेका छन् । अनलाइनमार्फत् एउटा सामान देखाएर अर्को पठाउने र पैसा पठाएपछि पेज नै बन्द गर्ने वा ब्लक गर्नेजस्ता गतिविधि धेरै देखिएको साइबर ब्यूरोले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा ठगीमा पर्नेहरूका उजुरी महिनामा औसत १२५ ओटा उजुरी आउने गरेका छन् ।
कार्यालयका अनुसार सार्वजनिक गरेको तीन वर्षको तथ्यांकमा पनि अनलाइन शपिङ गर्दा ठगीमा परेका घटना बढेको देखिन्छ । कार्यालयमा आर्थिक वर्ष २०७७/७८ मा अनलाइन शपिङ स्क्याम, इन्भेस्टमेन्ट स्क्याम र थर्ड पार्टी कन्ट्रोल एपबाट ठगी भएका घटनाको संख्या ४३ थियो । जसबाट कूल ५७ लाख ८७ हजार १७० रुपैयाँको ठगिएको बिगो दाबी गरिएको थियो ।
त्यसैगरी आर्थिक वर्ष २०७८/८९ मा सोही शीर्षकमा ८५ ओटा उजुरी परेका थिए । जसमा एक करोड ५२ लाख ४५ हजार ६२८ रुपैयाँको बिगो दाबी गरिएको थियो । आर्थिक वर्ष २०७९/८० मा यस्ता उजुरीको संख्या बढेर ४९७ पुगेको छ । यसमा पीडितले कूल पाँच करोड २९ लाख ५५ हजार ६०९ रुपैयाँ गुमाएको भन्दै बिगो दाबी गरेका छन् ।
अनलाइन शपिङका नाममा ठगिने अधिकांशले अग्रिम भुक्तानी गर्ने गरेको प्रहरीले जनाएको छ ।यस्ता अनलाइन ठगीका घटनाबाट जोगिन आधिकारिक र भरपर्दो माध्यममा मात्र विश्वास गर्न प्रहरीको सुझाव छ ।