काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन केन्द्रित सत्तारुढ गठबन्धनको केन्द्रीय समन्वय समितिले सातै प्रदेशमा प्रतिनिधि पठाउने भएको छ ।
निर्वाचनका लागि समन्वय र सहजीकरण गर्न गठित समितिको आज शनिबार बसेको बैठकले राष्ट्रियसभा चुनावको प्रचारप्रसारका लागि प्रदेशस्तरमा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको छ ।
समितिका संयोजक तथा कांग्रेस नेता रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा पार्टीका उम्मेदवारहरूसँग छलफल गरेपछि समन्वय समितिको टोलीले प्रदेशस्तरमा जाने निर्णय गरेको सचिव केशवराज जोशीले जानकारी दिए ।
‘राष्ट्रियसभा निर्वाचन २०८० का सन्दर्भमा ७ वटै प्रदेशका उम्मेदवारसँग निर्वाचनबारे जानकारी लिई प्राप्त सुझावबारे छलफल गरियो,’ बैठकपश्चात जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रियसभा निर्वाचनका लागि समन्वय र सहजीकरण गर्न विभिन्न प्रदेशमा यस समितिबाट जाने निर्णय गरियो ।’
नेपालको संविधानमा राष्ट्रियसभाका एकतिहाई सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनित १ गरी २० सदस्यको पद रिक्त हुँदैछ ।
आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यका १९ पदमा निर्वाचन हुँदैछ । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने प्रावधान छ ।