काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानअनुरुप बन्नुपर्ने कानूनहरू बनाउन सरकार गम्भीर भएर लागिरहेको बताएका छन् । उनले सरकारले संविधानप्रदत्त हक र अधिकारहरूको क्रमशः सुनिश्चितता गर्दै अघि बढेको दाबी गरे ।
शुक्रबार बिहान चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवनको शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले भने, ‘संविधानअनुरूप निर्माण गरिनुपर्ने ऐनहरूको तर्जुमाका निम्ति सरकारले गम्भीर पहल लिइरहेको छ । संविधानप्रदत्त हकहरूको क्रमशः कार्यान्वयन हुँदै गएको अवस्था छ ।’
उनले वर्तमान सरकारले संविधानप्रदत्त स्वास्थ्यको हक र अधिकारको सुनिश्चितता गर्दै लगेको दाबी पनि गरे ।
‘मेरो नेतृत्वको वर्तमान सरकार संविधानप्रदत्त ‘स्वास्थ्य सम्बन्धी हक’लाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको छ । स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, देशभरिका सबै अस्पतालमा १० प्रतिशत शैया गरिब, बिपन्न र असहाय नागरिकका लागि निशुल्क उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा गएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘महिलाहरूमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप निशुल्क उपलब्ध गराउने व्यवस्था, स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम, विपन्न बिरामीहरूका लागि अनुदानको व्यवस्था लगायत महत्वपूणर् निणर्यहरू भई कार्यान्वयनमा आएका छन् ।’
