काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई तोकिएको स्थानहदविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले शुक्रबार सुनुवाइ गर्दै सरकार र जाँचबुझ आयोगलाई कारण देखाउन आदेश (show cause order) जारी गरेको हो।
अधिवक्ता डा. प्रेमराज सिलवालले ओली र लेखकलाई उपत्यका बाहिर जान नदिने निर्णय कानुनविपरीत भएको भन्दै रिट निवेदन दर्ता गरेका थिए।
‘जेन–जी आन्दोलन’ का क्रममा भएको दमन र त्यसपछिको आगजनी घटनाको अनुसन्धानका लागि गठन भएको आयोगको सिफारिसमा सरकारले ओली, लेखक र तत्कालीन काठमाडौं प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई सरकारको अनुमति विना उपत्यका बाहिर जान नपाउने गरी स्थानहद तोकेको थियो।
त्यस्तै, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीमाथि पनि सोही निर्णय लागू गरिएको थियो। तर, सरकारी कामका कारण दुवाडीको स्थानहद फुकुवा गरिएको सर्वोच्चमा दर्ता रिटमा उल्लेख छ।

 
		 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					 
					
 

