काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताएका छन् । ‘घुमौँ भरतपुर’ भन्ने नारामा सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफू नेतृत्वको वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न क्रियाशील रहेको बताए ।
दिगो विकासबाट आर्थिक समृद्धि प्राप्त गर्न सहमतिको संस्कृति र राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय राजनीतिका विशिष्ट व्यक्तिहरूको सामूहिक उपस्थितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश सम्प्रेषण हुने बताए ।
नेपालको कूल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६ दशमलव ७ प्रतिशत र रोजगारीको क्षेत्रमा ६ दशमलव ९ प्रतिशत रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले चितवनमा २०२३ मा एक लाख ९० हजार चार सय ५८ जना पर्यटकको आगमन भएको आफूले जानकारी पाएको बताए ।