काठमाडौं । विभिन्न सामानहरू डेलिभरी गर्ने भन्दै अनलाइनमार्फत ठगी गरेको आरोपमा चारजना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा सर्लाहीको विष्णु गाउँपालिका ४ घर भई हाल काठमाडौंको पुरानो बानेश्वर बस्ने वर्ष २१ को आदित्य कुमार सिंह र वर्ष २० को सिद्धार्थ कुमार सिंह, बाराको कलैया उप महानगरपालिका ११ घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने वर्ष २२ को राम सेवक राम र पर्साको वीरगञ्ज महानगरपालिका १५ घर भई हाल गठ्ठाघरमै बस्ने वर्ष २४ को आकाश साह सोनार रहेका छन्।
उनीहरुले विभिन्न व्यक्तिसँग फेसबुक, भाइबर, इमो, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालको माध्यमबाट साथी बनाई अनलाइन मार्फत फेक एकाउन्टबाट कुराकानी गरी रकम माग गर्नुका साथै, ‘जाम जाम इलेक्ट्रोनिक्स’ नामक फेसबुक पेजमा विभिन्न मंहगो ब्राण्डका मोबाइल तथा आइफोन सेटहरू सस्तो मूल्यमा खरिद बिक्री वितरण गरेको लाइभ भिडिओ, पेजमा पोस्ट गर्ने गरेको प्रहरीले जनाएको छ।