काठमाडौं । तनहुँ आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी नदीमा व्यावसायिक रूपमा जलविहार शुरु भएको छ । गाउँपालिकाको सक्रियतामा यहाँ व्यावसायिक रूपमा जलविहार शुरु गरिएको हो ।
यसअघि चैत ५ गते सम्भाव्यता अध्ययनपछि जलविहारका लागि यस ठाउँ उपयुक्त देखिएकाले व्यावसायिक रूपमा जलविहार शुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । गाउँपालिकाले एस्केप्याड नेपालसँगको सहकार्यमा जलविहार शुरु गरेको हो ।
पर्यटनमार्फत गाउँपालिकाको प्रचारप्रसार र समृद्धिका लागि मर्स्याङ्दीमा रयाफ्टिङ सञ्चालन गरिएको उनको भनाइ छ । एस्केप्याड नेपालका सिनियर प्रशिक्षक सुमन थापाको नेतृत्वमा मर्स्याङ्दीमा र्याफ्टिङको अध्ययन गरिएको थियो । प्रशिक्षक सुमन थापाले मर्स्याङ्दी नदी र्याफ्टिङका लागि उपयुक्त रहेको बताए । आँबुखैरेनी–४ देखि मुग्लिन पुलसम्मको दूरीमा जलविहार मात्रै गर्न रु एक हजार शुल्क तोकिएको छ ।
गाउँपालिकाले मर्स्याङ्दी जलविद्युत् आयोजनाको जलाशयमा मोटरबोट सञ्चालनको तयारी गरेको छ । वडा नम्बर १ र २ स्थित तल्लो मर्स्याङ्दी जलविद्युत् आयोजनाको जलाशयमा मोटरबोट तथा पर्यापर्यटन कार्य सञ्चालनमा गाउँपालिका जुटेको हो ।
गण्डकी प्रदेशको प्रवेशद्वारमा अवस्थित उक्त ठाउँमा पर्यटक भित्र्याउँदै पर्यटन प्रवर्द्धनका लागि यो काम गर्न लागिएको अध्यक्ष चुमानको भनाइ छ । मोटरबोट सञ्चालन गरी स्थानीयवासीको जीविकोपार्जनमा सहयोग पुर्याउने लक्ष्य राखिएको अध्यक्ष चुमानले बताए ।