काठमाडौं । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दैशैं, शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ । चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ र दशैंको नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ ।
नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्ने गर्छन्। चैतेदशैंका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा पूजा अर्चना र दर्शन गर्न जाने परम्परा छ । नवरात्रमा शक्तिपीठमा पशु बलिसहित पूजा गर्ने विधान पनि छ ।
वर्षमा चार वटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व बढी रहेकोले आजका दिन देवीको आराधना गर्ने गरिन्छ ।
काठमाडौंमा भद्रकाली, गुह्येश्वरी, शोभाभगवती, नक्सालभगवती, मैतीदेवी र दक्षिणकालीका साथै काभ्रेपलाञ्चोकमा पलाञ्चोक भगवती, गोरखामा मनकामना, धादिङमा कोटका कालिका, बाँकेमा बागेश्लवरीगायत देशभरका शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीहरु पुग्ने गरेका छन् ।
यसैबीच गण्डकी प्रदेश सरकारले चैते दशैंको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
चैत शुक्ल अष्टमी (चैते दशैं) का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो ।
मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले गरेको बिदाको निर्णय प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकालले जानकारी दिए ।