काठमाडौं । ग्लोबल आइएमई बैंक र हब इन्टरनेसनल एजुकेसन प्रालिबीच भारतमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा हब इन्टरनेसनलका संस्थापक तथा अध्यक्ष उद्धवबहादुर खड्काले हस्ताक्षर गरे।
समझदारीअनुसार बैंकले हब इन्टरनेसनल एजुकेसनले सिफारिस गरेका विद्यार्थीलाई भारतका विश्वविद्यालयमा उच्च शिक्षाका निमित्त आवश्यक वित्तीय दायित्व वहन गर्न आवश्यक शैक्षिक कर्जा सहज रुपमा प्रवाह गर्नेछ।
हब इन्टरनेसनल एजुकेसनमार्फत सिफारिस भएका विद्यार्थी तथा अभिभावकले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपछि छिटो, सरल तथा सहज रुपमा यो कर्जा प्रवाह गरिनेछ।
बैंकले हाल ३५४ शाखा, ३७९ एटीएम, २७७ शाखारहित इकाइ, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ।