विशाल तिवारी
म घर अनि देश भन्छु , ऊ सपना अनि विदेश भन्थ्यो
एअरपोर्टमा जादा कति खुशी थ्यो ऊ , थाहा छैन के के पाउँछु सोचेर गाको थियो
खासमा जे – जे पाको थियो त्यो सब गुमाएर गाको थियो
घरकाले फोन गर्दा त अ सब ठिक छ, रमाइलो छ भन्छ तर
थाहा छ मलाई कहाँ खुशी उसको मन छ
सपना उसको उजाड-उजाड देखछु
खै किन म उसलाई उदास उदास देख्छु
कहिलेकाही फोन गर्छ मलाई फुर्सद पाउँछ बोल्न
अनि थाल्छ मनको पीडा खोल्न
धेरै दिन भाको छ, अरे नखाको खाना, आँखै सुन्नियेको छ, धेरै रोको छ अरे
थोरै पैसाको लागि ज्यानै फालेर काम हन्नुपर्छ
कुकुर जस्तो भाको छ जिन्दगी तर कुकुर हो मालिकले भनेको त मान्नुपर्छ
आँखाले निन्द्रा मुखले माम पाको छैन
धेरै दिन भाे शरिरले आराम पाको छैन
न सटिफिकेट न सीप काम लाग्यो
जाने सबैले ज्यान बेच्नु परेको छ
म पसिनाको खोलै बगाउन तयार तर
यहाँ त स्वाभिमान बेच्नु परेको छ
डर लाग्छ कतै आउने पीडिले त्यहि सिक्ने पो होकि
अर्काको गुलामी गर्दा गर्दै जिन्दगी बित्ने पो होकि
न साथीभाइ न आफन्त चाडपर्ब पनि हाम्रो आँगनीमा आउँदैनन्
कोहि कोठामै बिरामी परेपनि कसैले पत्तो पाउँदैनन्
आउन सजिलो रैछ विदेश फर्किन गाह्रो
आइसकेपछि विदेश जहर हुने रहेछ
थाहा थिएन आफ्नै माटाेमा जिउने पनि रहर हुँदो रहेछ ।
बरु तलाइ ठिक छ, साथीहरूको साथ पाको छस्
सुकुनले बाँच्न आफ्नै हावापानी सास पाको छस्
लड्दा बा हुनुहुन्छ अप्ठ्यारोमा आमाको आशिर्वाद पाको छस् तर
तलाइ पनि उजाड-उजाड देख्छु कहिले काहीँ
चकचके मेरो साथिलाईउदास उदास देख्छु कहिले काहीँ
अनि म भन्छु
यहाँ पनि सटिफिकेट र सीप काम लागेन
सपनाहरू अधुरा भाका छन्
यसको छोरो निकम्मा नालायक भनेर गाउँभरि कुरा भाका छन्
न व्यापार न जागिर हुन्छन् यहाँ
सन्तानले केही गरेन हरेक बालाई पिर हुन्छ यहाँ
यहाँ पनि पहिले जस्तो साथीभाइ , आफन्त , चाडपर्वमा रमझ्म बजार हुँदैन
थुक्न मन लाग्छ आफनै जिन्दगी देखेर , जब अनेकौं कोसिस गर्दा पनि हातमा सफलता हुँदैन।
यस्तै छ हाम्रो कथा
न ऊ मलाई विदेश आइज भन्न सक्छ, न म उसलाई देश फर्की भन्न सक्छु