काठमाडौं । श्रमाधान रोजगार मेला आजदेखि सुरु हुँदै छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा सातवटै प्रदेशमा आजदेखि ३० जेठसम्म आयोजना हुने रोजगार मेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने भएका छन् । श्रमाधान आज कोशी प्रदेशको विराटनगरबाट सुरु हुने मन्त्रालयले जानकारी दिएको छ ।
स्वदेशमा रोजगार सिर्जना गर्ने योजनासहित श्रमाधान कार्यक्रम आयोजना गरिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार रोजगारी सिर्जनाका लागि सरकारी र निजीक्षेत्रबीचको साझेदारीलाई प्रवर्द्धन गर्ने उद्देश्य छ ।
मन्त्रालयले आयोजना गरेको मेलामा रोजगारीको खोजीमा रहेका युवा, रोजगारदाता, तालिम प्रदायक संस्था तथा वैदेशिक रोजगारीसम्बन्धी सबै खालको जानकारी दिइने मन्त्रालयका अधिकारीले बताएका छन् ।
मन्त्रालयको आयोजना रहेको मेलामा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चम्बर आफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल संघ नेपाललगायत सहयोगी संस्थाको रूपमा रहेका छन् । उनीहरूले मेलामा स्टल राख्ने छन् । हरेक प्रदेशमा यो मेला दुई दिन चल्ने छ ।
मन्त्रालयका अनुसार १७ र १८ जेठमा कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुरमा १९ र २० जेठ, गण्डकी प्रदेशको पोखरामा २१ र २२ जेठ, लुम्बिनी प्रदेशको बुटलमा २३ र २४ जेठ, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ जेठ, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ र बागमती प्रदेशको ललितपुरमा २९ र ३० जेठमा मेला आयोजना हुने कार्यक्रम तय भएको छ ।