काठमाडौं । लमजुङको मर्स्याङदी गाउँपालिकामा ‘सफा मर्स्याङ्दी अभियान’ शुरु गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा गाउँपालिकाले सफा मर्स्याङ्दी अभियान शुरु गरेको हो । अभियान अन्तरगत गाउँपालिकामा रहेका ९ वटै वडा कार्यालयमा वडाभित्रका सम्पूर्ण विद्यालय, संघ संस्थाहरुको प्रमुखहरुबीच फोहोर व्यवस्थापन र सरसफाई कार्यक्रम सम्वन्धि छलफल तथा बहस गरिएको छ ।
यस्तै वडा तथा टोलहरुमा माइकिङ मार्फत सचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । गाउँपालिकाले २०७६ असोजदेखि मर्स्याङ्दी नदीमा फोहोर फाल्न बन्देज लगाएको थियो । जताततै फाल्ने फोहोरले मर्स्याङ्दी नदी दिनदिनै दुर्गन्धित भएको भन्दै गाउँपालिकाले अघिल्लो कार्यकालमै मर्स्याङ्दी नदीमा फोहोर फाल्न प्रतिवन्ध लगाएको थियो ।
सुरुमा मर्स्याङ्दी नदीलाई केन्द्रमा राखेर सफा मर्स्याङ्दी अभियान सुरु गरिएकोमा अहिले गाउँपालिकालाई नै सफा बनाउने अभियानमा गाउँपालिका जुटेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । सफा मर्स्याङ्दी अभियानअन्तर्गत जनप्रतिनिधि, कर्मचारी, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, आमा समूह, बाबा समूह, युवा क्लबको सक्रियतामा सरसफाई गरिएको छ ।