काठमाडौं । वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको ब्याजदर जेठ महिनाको तुलनामा सामान्य घटेको छ।
जेठ महिनामा औषतमा ६.९९ प्रतिशतविन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, असारमा घटेर ६.८७ प्रतिशतविन्दुमा झरेको छ। असार महिनाका लागि बैंकहरुको यस्तो निक्षेपको औषत ब्याजदर ०.१२ प्रतिशतविन्दु घटेको हो। त्यस्तै, बैंकहरुको संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.१२९ प्रतिशतविन्दु घटेको छ।
यस दिन नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका २० वाणिज्य बैंकहरुमध्ये ११ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन्। जसमध्ये ग्लोबल आइएमई बैंकले सर्वाधिक १ प्रतिशतविन्दु ब्याजदर घटाएको छ। जेठ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ७.५ प्रतिशत रहेको यस बैंकको ब्याजदर, असारमा घटेर ६.५ प्रतिशतमा झरेको छ। त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर पनि १ प्रतिशतविन्दु घटेर ५.५ प्रतिशतमा झरेको छ।
जेठ महिनाको तुलनामा असारमा ३ बैंकहरुले ब्याजदर बढाएका छन्। ब्याजदर बढाउने बैंकहरुमा नबिल बैंक, माछापुच्छ्रे बैंक र हिमालयन बैंक रहेका छन्। जसमध्ये हिमालयन बैंकले सर्वाधिक ०.७५ प्रतिशतविन्दु ब्याजदर बढाएको छ। सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८.२५ प्रतिशतका दरले ब्याज दिने भएको छ।
सबैभन्दा कम ब्याज दिने बैंक भने कृषि विकास बैंक नै रहेको छ। सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ५.६६१ प्रतिशत र संस्थागतमा ४.०१ प्रतिशतका दरले ब्याज दिनेछ। जेठ महिनामा पनि बैंकले सोही दरमा ब्याज दिइरहेको थियो।
बैंकहरूले व्यक्तिगत मुद्दती खातामा तोकेको अधिकतम ब्याजदर (प्रतिशतमा)
बैंक | जेठ २०८१ | असार २०८१ |
कृषि विकास | ५.६६६१ | ५.६६६१ |
एभरेस्ट | ६.५ | ५.७५ |
राष्ट्रिय वाणिज्य | ६.४ | ६.२२ |
एसबीआई | ६.३९ | ६.३० |
लक्ष्मी सनराइज | ७ | ६.५ |
ग्लोबल आईएमई | ७.५ | ६.५ |
कुमारी | ७.२६ | ६.५६ |
प्राइम | ७ | ६.७५ |
नेपाल | ६.७५ | ६.७५ |
सानिमा | ६.९ | ६.८ |
सिटिजन्स बैंक | ७ | ६.९ |
नबिल बैंक | ६.७५ | ७ |
इन्भेस्टमेन्ट मेगा | ७ | ७ |
सिद्धार्थ | ७ | ७ |
स्ट्यान्डर्ड चार्टर्ड | ७ | ७ |
माछापुच्छ्रे | ७.२६ | ७.५ |
प्रभु | ७.५ | ७.५ |
एनएमबी | ७.८ | ७.६९ |
एनआईसी एसिया | ७.८ | ७.६९ |
हिमालयन | ७.५ | ८.२५ |