काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए)ले बिदाको दिन समेत ओपीडी चलाउने प्रधानमन्त्री कार्यालयको निर्णय अव्यवहारिक तथा अवैज्ञानिक बताएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवासमेत) प्रवाह गर्नुपर्ने निर्णयका विषयमा विज्ञप्ति निकाल्दै यस्तो बताएको हो ।
उक्त निर्णयको समन्वय, प्रचारप्रसार र अनुगमन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई गरेको पत्राचार गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। नेपालमा २०४८ सालदेखि सरकारी अस्पतालहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा दरबन्दी नथपिएको र अस्पतालहरुमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक जनशक्ति तथा सेवा सुविधाहरु ज्यादै न्युन रहेकोतर्फ एनएमएले ध्यानाकर्षण गराएको छ।