काठमाडौँ । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिएका १५ दलका कागजात अध्ययन गरिरहेको जनाएको छ। प्रतिनिधिसभा चुनाव घोषणा हुनुअघि १० र पछि ५ दलले निवेदन दिएका हुन्।
जेन–जी आन्दोलनपछि युवा पुस्ताको सहभागितासहित नयाँ दल दर्ताको लहर देखिएको छ। धरानका मेयर हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टी र जेन–जी आन्दोलनका अगुवाहरूले पनि दल दर्ता निवेदन दिएका छन्।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रक्रिया पूरा गर्ने दलको निवेदन स्वीकृत हुनेछ। हाल आयोगमा १२४ दल दर्ता भएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि आयोगले करिब साढे ७ अर्ब रुपैयाँ खर्च हुने अनुमानसहितको बजेट तयार पारेको छ। अन्तिम टुंगो भने बाँकी रहेको आयोगले जनाएको छ।

