काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। हरितालिका तीजको दिन सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला १३ सय रुपैयाँले बढेर १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ।
यसअघि भदौ १३ गते सुनको मुल्यमा रेकर्ड कायम भएको थियो। सो दिन छापावाल सुन प्रतितोला १ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यसअघि, बिहीबार छापावाल सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम रहेको थियो।
मुख्यतयः अन्तर्राष्टिय बजारमा तय हुने भाउकै आधारमा नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ। विश्व बजारमा सुनको मूल्य घट्दा वा बढ्दा त्यसको सीधा प्रभाव नेपालमा पनि पर्ने गरेको छ। यसबाहेक तीज, विवाह लगायतका समयमा माग बढी हुँदा स्थानीय बजारमा सुन चाँदीको भाउ बढ्ने गरेको पाइन्छ।
आज चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले बढेर १७ सय ९५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको भाउ प्रतितोला १७ सय ६५ रुपैयाँ कायम रहेको थियो।