काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कोमामा रहेको अर्थतन्त्रलाई आइसियुमा ल्याइसकेको भन्दै अब छिटै लयमा फर्काउने बताएका छन् ।काठमाडौंमा नेपाल चेम्बर एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले सरकारले मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गर्न काम गरिरहेको बताए । उनले आफूहरु सरकारमा आउँदा अर्थतन्त्र कोमामा रहेको र अहिलेको सरकारले आइसियुमा ल्याएको उल्लेख गर्दै अब छिटै नै लयमा फर्किने दाबी गरे ।
अर्थतन्त्रलाई लयमा फर्काउने उद्देश्यले नै अहिले कानूनी र नीतिगत क्षेत्रमा रहेका समस्या समाधानका लागि अध्यादेश ल्याइएको उनले बताए । उनले आइटी क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्न पनि अध्यादेशमा व्यवस्था गरिएको बताए ।
‘हामी सरकारमा आउँदा त अर्थतन्त्र साँच्चै नै कोमामा थियो । त्यो कोममा भएको अर्थतन्त्रलाई हामीले कमसेकम अहिले आइसियुमा ल्याएका छौं । अब त्यसलाई हामी बाहिर निकाल्न चाहन्छौं । त्यही उद्देश्यका साथ कानुनी क्षेत्रमा, नीतिगत क्षेत्रमा रहेका समस्याहरु सबै जुन बाधकहरु थिए, त्यसलाई हल गर्नको लागि हामीले अध्यादेश जारी गरेका छौं,’उनले भने,’यो अध्यादेशले धेरै कुराहरू फुकाएको छ भन्ने मलाई लाग्छ । एआईको एप्लाई कसरी गर्ने भन्ने सबैको चासो थियो । आइटी सेक्टरलाई इण्डस्ट्रीको रुपमा कसरी विकसित गर्ने भन्ने चिन्ता थियो ।’