काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसा राज्यका विश्वविद्यालय तथा शिक्षण संस्थाका लागि प्रदान गर्ने वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) रोक्ने चेतावनी दिएको छ । ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि मन्त्रालयले भविष्यमा ती एनओसी दिन रोक्ने चेतावनी दिएको हो ।
उक्त घटनाबाट सिर्जित समस्याको न्यायपूर्ण र वैधानिक रूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय÷शिक्षण संस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको एनओसी प्रदान गर्ने कार्य स्थगित गर्ने चेतावनी दिएको हो ।
शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै यस घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
केआईआईटीमा अध्ययनरत नेपाली छात्रा लम्सालको मृत्यु भएपछि नेपाली विद्यार्थीहरूप्रति भएको व्यवहारका सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
विद्यार्थीहरूले सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेको नियम पालना गरी नियमानुसार बुझाउनुपर्ने शुल्क बुझाई अध्ययन गर्न पाउने विश्वव्यापी मान्यताको विपरीत अध्ययनरत रहिरहेको अवस्थामा विश्वविद्यालय प्रशासनबाट विद्यार्थीहरूप्रति भएको व्यवहार निन्दनीय रहेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले घटनाबारे जानकारी पाएलगत्तै कूटनीतिक पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई सोमबार नै अनुरोध गरेको थियो । घटनापछि विद्यार्थीहरूलाई यथाशीघ्र पठनपाठन कार्य पूर्ववत् सुचारु गराउने व्यवस्था मिलाउन समेत भारतको सरकारको ध्यानाकर्षण गराएको थियो ।
विद्यार्थीहरूले निर्बाध रूपमा अध्ययन गर्न पाउने अवस्थाको सुनिश्चितताका लागि कूटनीतिक तवरबाट परराष्ट्र मन्त्रालयमार्फत मन्त्रालयले निरन्तर पहल गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले घटनाबाट प्रभावित विद्यार्थी तथा अभिभावकलाई आकस्मिक सहजीकरण एवं सहायता प्रदान गर्न सहायता कक्ष समेत स्थापना गरिएको जनाएको छ ।