काठमाडौं । लमजुङ ईशानेश्वर महादेव मन्दिरमा बत्ती बाल्न आज देशका विभिन्न स्थानबाट भक्तजन करापुटार आइपुगेका छन्। शिवरात्रिमा रातभर उभिएर महादेवको नाउँमा बत्ती बाल्दा सन्तान प्राप्ति हुने विश्वास रहेकाे छ । लमजुङ र कास्कीको सिमानामा पर्ने ईशानेश्वरलाई सन्तानेश्वर महादेवको नामले समेत चिनिन्छ। यहाँ वर्षेनि हजारौँ भक्तजनले ठाडो बत्ती बाल्ने गर्छन्। सन्तान प्राप्तिका लागि बत्ती बाल्नेहरू सन्तान प्राप्त भएपछि आफ्ना सन्तान देखाउन यहाँ आउने गर्छन्।
रातभर जाग्राम रहनेलाई मनोरञ्जन प्रदान गर्न विभिन्न किसिमका कार्यक्रम आयोजना गरिने ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले जनाएको छ। यो वर्षदेखि मन्दिर परिसरमा १०८ धारा र गौरीकुण्डसमेत निर्माण गरिदिएकाले मेला भर्नेको संख्या बढेको समितिले जनाएको छ। लमजुङ, तनहुँ, गोरखा, स्याङ्जा, चितवन, कास्की, बागलुङ, काठमाडौँलगायतका जिल्ला र भारतबाट समेत यहाँ भक्तजन आएका छन्।
यो वर्ष दुई दिनसम्म सञ्चालन हुने गरी खुला भजन प्रतियोगिता आयोजना गरिएको छ। शिवरात्रिको अवसरमा आज बिहान ४ बजेदेखि मन्दिरमा दूध चढाउनेको भीड लागेको थियो।
श्रीस्वस्थानी व्रतकथामा महादेवले सतिदेवीको मृत शरीर लिएर हिँड्दा यस स्थानमा पुगेपछि दायाँ तिघ्रा पतन भएको मानिन्छ। यहाँ तारकेश्वर महादेव उत्पन्न भई ईशान कोणमा अवस्थित रहेकाले ईशानेश्वर महादेव नामकरण गरिएको मान्यता छ।