काठमाडौं । ई–सेवाबाट १ करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भइ हाल काठमाडौंको अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा रहेका छन् ।
बुढाले ईसेवा प्रयोगकर्ताहलाई एसएमएसमार्फत द अर्लट, एटी अलर्टजस्ता फिसिङ लिंक पठाएर ‘तपाईंको खाता सस्पेन्ड’ हुन लागेको भन्दै चेतावनी पठाएर रकम चोरी गर्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार बुढाले ४ हजारभन्दा बढी व्यक्तिहरुको ई–सेवामा मौजदात रहेको रकम चोरी गरेका हुन् । उनले १ करोड २ लाख रुपैयाँ बराबरको रकम चोरी गरेको खुल्न आएको प्रहरी उपरीक्षक जिसीले जानकारी दिए ।
बुढाले लिंक पठाएपछि तपाईंको खाता सस्पेन्ड हुन लागेको चेतावनी दिँदै भेरिफाइको लिंक खोल्न लगाएर व्यक्तिका ई–सेवामा पुहुँच पुर्याएको प्रहरी उपरीक्षक जिसीले बताए ।
उक्त रकम उनले पशुपति ग्लोबल इनोभेशन प्रा.लि.को मर्चेन्ट खाताहरुमा जम्मा गरेको पाइएको पनि प्रहरी उपरीक्षक जिसीले जानकारी दिए । उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।