काठमाडौं । शिक्षक आन्दोलन चुलिँदै गएका बेला शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा बुझाएकी हुन्। बालुवाटार स्रोतका अनुसार राजीनामा स्वीकृत गर्न केहीबेरमा बस्न लागेको मन्त्रिपरिषद् बैठकबाट निर्णय हुने सम्भावना छ।
देशभरिका शिक्षकहरू लगातार सडकमा छन्। उनीहरूको माग सम्बोधन गर्ने जिम्मेवारी पाएको मन्त्रालयको नेतृत्वमै प्रश्न उठ्न थालेपछि मन्त्री भट्टराई दबाबमा परेकी थिइन्। शिक्षक महासंघसँग बारम्बार संवाद गरिए पनि कुनै निष्कर्ष ननिस्कँदा मन्त्रीमाथि असन्तुष्टि झनै बढेको थियो।