काठमाडौं । सरकारले शिक्षकहरूका मागबारे पर्सिसम्ममा निष्कर्षमा पुगिने घोषणा गरेको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले भोलि नभए पर्सिसम्म शिक्षकका मागहरू सम्बोधन हुने बताए ।
सोमबार मन्त्रिपरिषद् बैठकबाट बाहिरने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘शिक्षकहरूको आन्दोलनबारे आज एजेन्डा थिएन । शिक्षामन्त्रीज्यूले शिक्षक महासँगका अध्यक्षलगायतसँग वार्ता गर्नुभएको छ । भोलि या पर्सीसम्म मागहरू सम्बोधन हुने र शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण बन्ने अपेक्षा छ ।’
यद्यपि सहमतिको खाका भने बनिनसकेको उनले बताए । त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आवश्यक तयारी गरिरहेकाे प्रवक्ता गुरुङले जानकारी दिए ।