काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर जेठको अन्त्यसम्म पूरा हुने बताएका छन्।
ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको स्थलगत निरीक्षणका क्रममा मन्त्री दाहालले बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिए। उजले प्राविधिक रूपमा समस्या आउँदा निर्माण सम्पन्न हुन समय लागे पनि परिणाम सन्तोषजनक आएको बताउँदै असार १ गतेदेखि सवारी सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिए।
२०७८ सालदेखि निर्माण सुरु भए पनि प्राविधिक समस्याका कारण आयोजना समयमै सम्पन्न हुन नसकेको उनको भनाइ थियो। निरीक्षणकै क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री दाहालले मनसुन सुरु भएसँगै मुख्य राजमार्गमा आउने समस्या समाधानका लागि पूर्व तयारीका काम भइरहेको जानकारी दिए।
उनले विपद् न्यूनीकरणका लागि स्थानीयबासी र सवारीचालकलाई सतर्क गराउनेलगायत उपलब्ध स्रोत साधनलाई स्ट्याण्डवाई राखेर समस्या आएलगत्तै समाधान गर्ने गरी तयारी अवस्थामा राखेको जानकारी दिए।
मन्त्री दाहालले भने, ‘यो जेठको अन्तिमसम्म सम्पन्न गरेर असार १ गतेदेखि सवारी सञ्चालन गर्ने तयारीमा छौं। निश्चित समय गाडी रोकेरै भए पनि हामीले कटिङको काम सकेका छौं।’
उनले विभिन्न राजमार्गमा निर्माण कार्य जारी नै रहेकाले सम्बन्धित निर्माण कम्पनीलाई पूर्व तयारी अवस्थामा बस्न आग्रह गरेको बताए।