काठमाडौं । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा लमजुङको दोर्दी गाउँपालिका–५ का २६ वर्षीय दिपेन्द्र गुरुङ र सर्लाहीको बरहथवा नगरपालिका–१ की ३४ वर्षीया रुपी मायाँ रहेका छन्।
दिपेन्द्र गुरुङले बुसनिया पठाइदिने भन्दै ६ जनाबाट ७ लाख रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ। यस्तै, रुपी मायाँले मलेशिया पठाइदिने भनी ६ जनाबाट ५ लाख ५७ हजार रुपैयाँ ठगी गरेको पाइएको छ।
रकम लिएपश्चात लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।