काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी खोलाको बाढीले यात्रु बोकेको एउटा बस बगाएको छ। प्रहरीले बसमा सवार सबै यात्रु सकुशल उद्धार गरेको छ।
बर्दिया जाँदै गरेको भे १ ख ४०८५ नम्बरको यात्रुबाहक बस बिहीबार राति करिब ११ बजे विनयी खोलामा आएको बाढीले बगाएको हो। बसमा तीन बालबालिका सहित ३८ जना यात्रु थिए। जिल्ला प्रहरी कार्यालय नवलपुरले सबै यात्रुहरुलाई सकुशल उद्दार गरिएको जनाएको छ।
उक्त स्थानमा गत पुसमा भारतीय ओभरलोड ट्रकले पुल भत्काएपछि वैकल्पिकरूपमा डाइभर्सन निर्माण गरिएको थियो। तर निरन्तरको वर्षाका कारण आएको बाढीले डाइभर्सन पटक–पटक बगाउँदै यातायात अबरुद्ध बनाइरहेको छ।
डाइभर्सन पूर्णरूपमा बगाएकाले अहिले दुम्किबासदेखि दाउन्नेतर्फको सडकखण्ड अवरुद्ध भएको छ। सडक हिलाम्य भएपछि गाडीहरू उकालो चढ्न नसकी बीच बाटोमै अलपत्र परेका छन्।