काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल(जसपा नेपाल) ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ । गत असार ७ र ८ गते बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको भन्दै आगामी दिनमा समर्थन फिर्ता लिनसक्ने संकेत गरेको हो । साथै बैठकले यसअघि सरकारलाई दिएको समर्थनबारे पुनःविचार गरी निर्णय गर्न संघीय संसदीय दललाई निर्देश गर्ने जसपा नेपालले जनाएको छ ।
‘केपी ओली नेतृत्वमा रहेको वर्तमान सरकारले देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूती, संविधान संशोधन, आर्थिक अवस्थामा सुधार लगायतका कार्यमा पूर्णतः असफल रहेकाले पार्टीद्वारा वर्तमान सरकारलाई विगतमा दिइएको समर्थनबारे पुनःविचार गरी निर्णय गर्न जसपा नेपाल संघीय संसदीय दललाई निर्देश गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै आगामी भदौ २५, २६ र २७ गते आयोजित पार्टी प्रदेश अधिवेशनका लागि जसपा नेपाल, प्रदेश निर्वाचनसम्बन्धी निर्देशिका सर्वसम्मतिले पारित गरिएको बताइएको छ ।
त्यस्तै विभिन्न पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरी पार्टीमा क्रियाशील रहेकाहरुलाई केन्द्रीय समितिमा मनोनित गर्ने समेतका निर्णयहरु गरिएको छ ।