काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का पदाधिकारीहरूलाई नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले विश्वविद्यालय प्रवेशमा रोक लगाएको छ।
सर्वोच्च अदालतले त्रिविमा लगाइएको ताला तत्काल खोल्न अन्तरिम आदेश दिएपछि शुक्रबार बिहान आंशिक प्राध्यापकहरूले आफैं ताला खोलेका थिए। अदालतले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रहरी वृत्त कीर्तिपुरलाई हस्तक्षेप गर्न आदेश दिएको थियो।
आदेशपछि ताला खुले पनि अखिल क्रान्तिकारीले विश्वविद्यालयका उपकुलपति लगायतका पदाधिकारीहरूलाई प्रवेशमा रोक लगाएको छ। संगठनका कार्यवाहक अध्यक्ष शिवराज भट्टले विज्ञप्ति जारी गर्दै आफ्ना माग पूरा नभएसम्म पदाधिकारीहरूको प्रवेश निषेध गरिएको बताएका छन्।
यसअघि नेविसंघ निकट विद्यार्थी र आंशिक प्राध्यापकहरूले तालाबन्दी गरेका थिए। अदालतको आदेशपछि ताला खोलिए पनि आन्दोलन भने जारी नै रहेको छ।