काठमाडौं । बेसीशहर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ७८ करोड ४८ लाख ७० हजार रुपैयाँको बजेट पारित गरेको छ। आइतबार सम्पन्न नगरसभाको १७ औँ अधिवेशनले नीति, कार्यक्रम र योजनासहितको बजेट सर्वसम्मत रूपमा स्वीकृत गरेको हो।
नगरसभामा उपप्रमुख पद्मा गुरुङले चालु खर्चतर्फ ४७ करोड ९० लाख र पुँजीगत खर्चतर्फ ३० करोड ५८ लाख ७० हजार रुपैयाँ विनियोजन भएको बजेट प्रस्तुत गरिन्। बजेटमा राजस्वका विभिन्न स्रोतबाट २२ करोड ५९ लाख र अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५५ करोड ८९ लाख ६९ हजार आय हुने अनुमान गरिएको छ।
क्षेत्रगत बजेट विनियोजन
आर्थिक विकास: २ करोड ८९ लाख ८० हजार
सामाजिक विकास: ३ करोड ३९ लाख ३२ हजार
भौतिक पूर्वाधार: ७ करोड ९५ लाख ५८ हजार
वन, वातावरण तथा विपद् व्यवस्थापन: ५७ लाख
संस्थागत विकास, सेवा प्रवाह र सुशासन: १५ करोड ३६ लाख
योजना तथा कार्यक्रम
नगरस्तरीय योजना: ३० करोड १७ लाख ७० हजार
वडास्तरीय योजना: ७ करोड २५ लाख
निशर्त अनुदान अन्तर्गत: ३७ करोड ४२ लाख ७० हजार
नगरप्रमुख गुमानसिंह अर्यालको अध्यक्षतामा सम्पन्न नगरसभाले बजेटसँगै नीति, कार्यक्रम, विनियोजन विधेयक र कार्यपालिकाका ४४ निर्णयहरू पारित गरेको हो।
नगरप्रमुख अर्यालले नीति, कार्यक्रम र बजेट भेदभावरहित ढंगले, आवश्यकता र प्राथमिकताका आधारमा तयार पारिएको बताए। उनले बजेट निर्माणमा केन्द्र सरकारबाट हुने बजेट कटौतीले चुनौती थपिएको उल्लेख गर्दै नगरबासीको अपेक्षा अनुसार योजना बनाउन कठिन भएको जानकारी दिए।
नगरसभामा वडा नम्बर ८ का अध्यक्ष पवित्रा थापा, वडा ११ का शिवप्रसाद जोशी, वडा २ का मदनबहादुर राना, सदस्य कृष्ण भुजेल लगायतले बजेटबारे सुझाव र टिप्पणी दिएका थिए।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्याल, वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुखलगायतको उपस्थिति रहेको थियो। नगरसभा असार ९ गतेदेखि सुरु भई असार २३ गते सम्पन्न भएको हो।