काठमाडौं । नागरिकता किर्ते प्रकरणमा संलग्न रहेको आरोपमा धादिङको धुनीवेशी नगरपालिका–४ का वडाध्यक्ष हरिप्रसाद सुवेदी पक्राउ परेका छन्। सात महिनादेखि फरार रहेका सुवेदीलाई शनिबार काठमाडौंको कलंकीबाट प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार, सार्वजनिक किर्ते मुद्दाअन्तर्गत उमेर नपुगेको नाबालकलाई बालिग देखाई झुटो जन्मदर्ता प्रमाणपत्र तयार पारिएको र सोही आधारमा नागरिकता बनाई करोडौँ मूल्यको जग्गा बिक्री गरिएको अभियोगमा सुवेदीविरुद्ध मुद्दा दायर भएको हो।
उक्त प्रकरणमा वडाध्यक्ष सुवेदीसहित ७ जनाविरुद्ध पनि २०७९ मंसिर १२ गते जिल्ला अदालत धादिङबाट पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी गरिएकामध्ये अन्य व्यक्तिहरूमा तत्कालीन वडासचिव मिलनकुमार सुवेदी, कर्मचारी निर्मल गौतम, थाक्रे गाउँपालिका–८ का रविन्द्र तामाङ, धुनीवेशी–४ का राजु तामाङ र मदन दमाई, साथै काठमाडौँ तार्केश्वर नगरपालिका–४ पुरानो गुहेश्वरीकी जमुना परियार परेका छन्।
जमुना परियारको छोराको उमेर झुटो रूपमा बढाएर दोस्रो जन्मदर्ता बनाइएको र त्यही आधारमा नागरिकता बनाई करोडौँ मूल्यको जग्गा बिक्री गरिएको प्रहरी अनुसन्धानमा खुलेको छ। जग्गा बिक्रीका लागि नाबालकलाई बालिग देखाई सामूहिक मिलेमतोमा किर्ते गरिएको आरोप लागिएको छ।
पक्राउ परेका सुवेदीलाई थप अनुसन्धानका लागि धादिङ लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ। वडाध्यक्ष सुवेदी २०७४ को स्थानीय निर्वाचनमा एमालेबाट, र पछिल्लो पटक एकीकृत समाजवादीबाट निर्वाचित भएका थिए।