काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डलबाहेक अन्य व्यक्ति कसरी संलग्न भए भन्ने विषयमा गहिरो छानबिन गर्न निर्देशन दिएका छन्।
मन्त्री लेखकले आज गृहसचिव गोकर्णमणि दुवाडी र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापालाई आवश्यक अनुसन्धान गर्न निर्देशन दिएको उनका सचिवालयले जनाएको छ।
“प्रधानमन्त्रीको प्रतिनिधिमण्डलबाहेक स्पेनमा को–को गए? कुन विधि, प्रक्रिया र कुन संस्थामार्फत भ्रमण भयो भन्ने विषयमा छानबिन गर्न निर्देशन दिएको छु,” मन्त्री लेखकले बताएका छन्। उनले भिजिट भिसाको प्रबन्ध कसले गर्यो? कसरी यस्तो भ्रमण सम्भव भयो भन्नेबारे पनि गहिरो अनुसन्धान हुने स्पष्ट पारेका छन्।
गृह मन्त्रालयका अनुसार यस विषयमा छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र मानव बेचबिखन अनुसन्धान ब्युरो परिचालित हुनेछ। “यस विषयमा जो दोषी देखिन्छ, उसमाथि कानुनी कारबाही हुन्छ,” मन्त्री लेखकले चेतावनी दिएका छन्।
एमाले अध्यक्ष ओली गत असार १४ गते स्पेन भ्रमणमा गएका थिए। पछिल्लो समय उक्त भ्रमणको क्रममा गैरसरकारी र शंकास्पद व्यक्ति सरकारी टोलीसँगै गएको आशंका सार्वजनिक हुँदै आएको छ। यही पृष्ठभूमिमा गृहमन्त्री लेखकले औपचारिक रूपमा छानबिन अघि बढाएका हुन्।