काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार देशभर भारी वर्षाको सम्भावना रहेकाले सबै नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्। मौसम पूर्वानुमान विभागले दिउँसो जारी गरेको सूचनालाई उद्धृत गर्दै प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत सावधानी अपनाउन अपिल गरेका हुन्।
प्रधानमन्त्री ओलीले भनेका छन्, “मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपदबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौं। अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु। सुरक्षाकर्मीहरूलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन पनि दिएको छु।”
मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तरतर्फ सरेको छ, जसका कारण देशभर मौसम बदली रहेको छ।