काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच जना नेतामाथि गरिएको अनुशासनात्मक कारबाहीबारे सोधपुछ गर्न पार्टीलाई पत्राचार गरेको छ। ती नेताहरूले आफूहरूलाई विधानविपरीत अवैधानिक रूपमा कारबाही गरिएको भन्दै आयोगमा उजुरी दिएका थिए।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले हालै अनुशासन समिति अध्यक्ष नवराज सुवेदी, प्रवक्ता सगुनसुन्दर लावती, उपाध्यक्ष मुकुन्द श्याम गिरी, महामन्त्री डा. धवलशम्शेर राणा र संयोजित संगठन विभागका सदस्य सचिव धनशुर शाहीलाई विभिन्न पदबाट हटाएका थिए।
कारबाहीको विरोधमा पाँचै नेताहरूले निर्वाचन आयोगमा लिखित उजुरी दिएपछि आयोगले छानबिन प्रक्रिया सुरु गरेको हो। आयोगकी प्रवक्ता सीता पोखरेलका अनुसार सो उजुरीका आधारमा राप्रपालाई औपचारिक पत्राचार गरिएको छ।
‘पाँच जनाको निवेदन आएपछि आयोगले सोधपुछका लागि पत्राचार गरेको हो,’ प्रवक्ता पोखरेलले जानकारी दिइन्।
यसैबीच, राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले पनि निर्वाचन आयोगबाट पत्र प्राप्त भएको पुष्टि गरेका छन्। यद्यपि उनले पत्रको विस्तृत विवरण पढ्न बाँकी रहेको बताएका छन्। राप्रपाभित्रको आन्तरिक विवाद सार्वजनिक भइरहँदा आयोगको यो हस्तक्षेपले विषयलाई थप गम्भीर बनाएको छ।