काठमाडौं । नेपाल–चीन सिमाना हुँदै बग्ने लेन्देखोलामा फेरि भीषण बाढी आएको छ। गड्गडाउँदै आएको बाढीले नुवाकोट र रसुवास्थित विद्युत् संरचना, सडक र सीमावर्ती पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ।
चीनको तिब्बत हुँदै रसुवागढी नाकाबाट बग्ने लेन्देखोलाले त्रिशूली नदीमा मिसिएर बुधबार राति ठूलो बाढी ल्याएको हो। यसअघि असार २४ मा आएको बाढीबाट क्षतिग्रस्त भएका संरचनाहरू पुनर्निर्माण सुरु नहुँदै फेरि आएको बाढीले थप विनाश गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ।
बाढीका कारण नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा रहेको नेपाल विद्युत् प्राधिकरणको २२० केभी क्षमताको त्रिशूली–३ बी हब सबस्टेसनमा दोब्बर क्षति पुगेको छ। प्राधिकरणका अनुसार सबस्टेसनको सुरक्षात्मक पर्खाल बगाएको छ भने बाढी सबस्टेसन परिसरमै पस्न थालेको छ। फलस्वरूप विद्युत् आपूर्ति तथा निर्यात पूर्णरूपमा बन्द भएको छ।
बाढीले ‘त्रिशूली–काठमाडौं प्रसारण लाइन’को संरचनामा पनि क्षति पुर्याएको छ। क्षतिको मूल्यांकन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले जानकारी दिए। उनका अनुसार बाढीले करोडौं रुपैयाँ बराबरको पूर्वाधार बगाएको छ।