काठमाडौं । सहकारी ठगी प्रकरणमा रुन्देहीको भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मौलिक अधिकार हनन भएको खबर सार्वजनिक भएपछि राष्ट्रिय मानवअधिकार आयोगको टोलीले सोमबार कारागारको अनुगमन गरेको छ।
आयोगकी आयुक्त लिली थापाको नेतृत्वमा गएको टोलीले लामिछानेको कोठा र कारागारको अवस्थाको निरीक्षण गरेको थियो। अनुगमनपछि थापाले लामिछानेलाई पत्रपत्रिका पढ्न नदिइएको र कोठाको झ्याल पूर्ण रूपमा बन्द रहेको पाइएको जानकारी दिइन्। सुरक्षाको नाममा हावा नजाने कोठामा राख्नु गलत भएको र कैदीबन्दीको सुरक्षा सरकारले सुनिश्चित गर्नुपर्ने उनले बताइन्। साथै लामिछानेले बाहिर हिँडडुल गर्ने र स्वच्छ हावा लिने सुविधा नपाएकोमा चासो व्यक्त गरिन्।
लामिछानेको कोठामा कुलर नभए पनि दुईवटा पंखा रहेको भए पनि पर्याप्त संरचना नहुनु र कारागार नियमको पालना नगर्नु सरकारको कमजोरी भएको आयोगले उल्लेख गरेको छ।
थापाले अदालतले लामिछानेको स्थानान्तरण अनुमति दिएको भए पनि कार्यान्वयन नभएको र आफन्तसँग भेट गर्ने मौका नदिइएको विषयमा आयोगले कारागार व्यवस्थापन विभागसँग छलफल गर्ने जानकारी दिइन्।
कारागार प्रमुखले बन्द झ्याल खोल्ने आश्वासन दिएका छन्। आयोगले शौचालय र अन्य आधारभूत सुविधाको अवस्था कमजोर रहेको पनि औंल्याएको छ।