काठमाडौं । नेपाल पत्रकार महासंघले देशभरका पत्रकारहरूले असुरक्षित महसुस गरिरहेको जनाएको छ। जेनजी आन्दोलनका क्रममा मिडिया हाउस जलाइएका, पत्रकारमाथि आक्रमण भएका तथा ४ जना पत्रकार गोली लागि घाइते भएको घटनाप्रति महासंघले गम्भीर आपत्ति जनाएको हो।
महासंघ अध्यक्ष निर्मला शर्माले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,
“जनतालाई सूचित गर्न र शान्ति तथा लोकतन्त्रका लागि सधैं क्रियाशील हुने पत्रकार र मिडियालाई आन्दोलनको निसाना बनाइनु दुःखद छ।”
महासंघले राज्यलाई मिडिया हाउस र पत्रकारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै, जेनजी पुस्ताले उठाएका संरचनात्मक सुधारका मागहरूलाई सम्बोधन गर्न गम्भीर विमर्श आवश्यक रहेको उल्लेख गरेको छ।
त्यसैगरी, महासंघले संक्रमणकालीन अवस्थाको शान्तिपूर्ण अन्त्यका लागि राष्ट्रपति सक्रिय हुनुपर्ने सुझाव दिएको छ।
विज्ञप्तिमा भनिएको छ,”संवैधानिक प्रक्रिया र संस्थामार्फत नै समाधान खोजी मुलुकलाई सहज निकास दिनुपर्छ। यसका लागि राष्ट्रपतिले वार्ताको सहजीकरण गर्नुपर्छ।”
महासंघले राजनीतिक समस्या समाधानको पहल राष्ट्रपति कार्यालयबाट हुनुपर्नेमा जोड दिंदै, जंगीअड्डाबाट निकास खोज्ने प्रयास अस्वीकार्य हुने स्पष्ट पारेको छ।
अन्त्यमा, महासंघले जेनजी आन्दोलनको भावनाअनुरूप संरचनात्मक सुधारमार्फत लोकतान्त्रिक गणतन्त्रको संरक्षण र थप उपलब्धि हासिल गर्नुपर्ने आवश्यकता औंल्याएको छ।