काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेलगत्तै तयारी नभएका टुक्रे आयोजनाहरू खारेज गर्ने घोषणा गरेका छन्। सोमबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले बजेटमा देखिएका असंगठित र फजुल खर्चका आयोजना तत्काल अध्ययन गरी हटाइने बताए।
उनले भने, “पूर्व तयारी बिना सुरु गरिएका आयोजनाहरूलाई अगाडि बढाइँदैन। तयारी नभएका टुक्रे आयोजना खारेज गर्छौँ। फजुल खर्च मूल्याङ्कन गरेर मात्रै काम अघि बढ्छ।”
खनालले आयोगमार्फत विगतमा प्रस्तुत गरिएका सुझावहरूलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै, आगामी दिनमा नीति र कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउने स्पष्ट संकेत दिएका छन्।
पदभार ग्रहणपछि अर्थमन्त्री खनालले अर्थ मन्त्रालय परिसरमै रहेको भंग्नावशेष तुरुन्तै हटाइने जानकारी पनि दिए। उनले भनिन्, “हामी खरानीबाट जाग्यौँ भन्ने सन्देश अर्थ मन्त्रालयबाट नै दिन्छौँ।”
खनालले तत्कालै बजेटका टुक्रे आयोजना हटाउन अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेका छन्। उनका अनुसार, यो कार्यदलले देशभरका बजेट शीर्षकमा सूचीकृत आयोजना पुनरावलोकन गर्नेछ र प्राथमिकता अनुसार मात्रै निरन्तरता दिनेछ।
उनको यो घोषणाले दीर्घकालीन विकासलाई दिशा दिने अपेक्षा गरिएको छ। विश्लेषकहरूले खनालको पहिलो निर्णयलाई खर्च नियन्त्रण र उत्तरदायी बजेट व्यवस्थापनतर्फको महत्त्वपूर्ण कदमका रूपमा लिएका छन्।