काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी युवा आन्दोलनका क्रममा भएको गोलीकाण्डप्रति स्पष्टिकरण दिएका छन्। उनले आन्दोलनका सहभागीहरूलाई लक्षित गरेर गोली प्रहार गर्न आफू वा सरकारबाट कुनै आदेश नआएको दाबी गरेका छन्।
संविधान दिवसका अवसरमा शुक्रबार सार्वजनिक वक्तव्य जारी गर्दै ओलीले भदौ २३ र २४ गतेको घटनामा शान्तिपूर्ण प्रदर्शनलाई बाह्य घुसपैठमार्फत हिंस्रक बनाइएको उल्लेख गरे। “जेनजीको प्रदर्शन शान्तिपूर्ण हुने भनिएको थियो तर षड्यन्त्रकारी घुसपैठ भयो र हिंसा मच्चाइयो। त्यसकै परिणामस्वरूप हाम्रा युवाहरूले ज्यान गुमाए। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन,” ओलीले भने।
आन्दोलनका क्रममा ७४ जनाले ज्यान गुमाएका थिए। मृतकमध्ये अधिकांशको टाउको र छातीमा गोली लागेको तथ्य प्रमाणित भएको छ। यसलाई लिएर तत्कालीन सरकारमाथि तीव्र आलोचना भएको थियो।
ओलीले प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग गरेर गोली प्रहार गरिएको दाबी गर्दै घटनामा गम्भीर षड्यन्त्र भएको संकेत गरेका छन्। प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उनी नौ दिनसम्म सैनिक ब्यारेकमा बसेका थिए। त्यसपछि विहीबार मात्र भक्तपुरको गुण्डुस्थित एउटा घरमा भाडामा सरेका छन्।