काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको वर्तमान केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव पेस गरेका छन्।
बिहीबार राजधानीको प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले अध्यक्षसहित सबै पदाधिकारीको कमिटी विघटन गर्ने प्रस्ताव अघि सारेका हुन्। उनले यस्तो कदम विशेष महाधिवेशनमार्फत पार्टीलाई अझ सुदृढ बनाउन आवश्यक रहेको बताए।
बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिलाई जटिल, विकराल र गम्भीर रहेको बताए। उनले भने, “आज जे देखिँदैछ, त्यसलाई शब्दमा बयान गर्न पनि गाह्रो छ। यस्तो अवस्थामा आन्दोलनलाई मजबुत बनाउन विशेष महाधिवेशनसम्म जानु आवश्यक देखिन्छ।”
नेतृत्व हस्तान्तरणबारे लगातार छलफल भइरहेको उल्लेख गर्दै प्रचण्डले आफूलाई पदमा बसिरहनुपर्ने कुनै आवश्यकताबोध नभएको पनि स्पष्ट पारेका छन्।