काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा आफूले गोली चलाउन आदेश नदिएको स्पष्ट पारेका छन्।
भक्तपुरको गुन्डुमा राष्ट्रिय युवा संघ नेपालले आयोजित दसैँ भेटघाट कार्यक्रममा बोल्दै उनले देशमा रक्तपात नहोस् भन्ने पक्षमा आफू सधैं रहेको बताए। तर आन्दोलनका बेला गोली कसको आदेशमा चल्यो भन्नेबारे आश्चर्य व्यक्त गरे।
ओलीले भने, “गोली चल्यो भनेपछि मैले सोधेको थिएँ– गोली चलाउने तहमा कसरी पुग्यो? कहाँ गोली लागेको छ? टाउका र छातीमा! प्रहरीलाई त घुँडामुनि मात्र गोली हान्ने आदेश हुन्छ, कसरी यस्तो भयो? म अत्यन्त दुःखित छु।”
उनले भोलिपल्ट पनि अप्रिय घटना नहोस् भनेर धेरै प्रयास गरेको दाबी गर्दै जेनजीको भ्रष्टाचार अन्त्य होस् भन्ने मागलाई गम्भीरतापूर्वक लिएको बताए। ओलीले छानबिन आयोगमार्फत सबै सत्य बाहिर आउने विश्वास व्यक्त गरे। “प्रधानमन्त्रीले न गोली चलाउने आदेश दिन्छ, न थाहा पाउँछ। आयोगले सत्य पत्ता लगाउँछ,” उनले स्पष्ट पारे।
भदौ २३ गते भ्रष्टाचारविरुद्ध जेनजीले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो। त्यसपछिका घटनामा मानवीय तथा भौतिक क्षति बढ्दै जाँदा अहिलेसम्म ७५ जनाले ज्यान गुमाइसकेका छन्।

