काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट प्राप्त पछिल्लो विवरणअनुसार जेन–जी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको जनाएको छ।
मन्त्रालयका अनुसार सिभिल अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा तीन जना, त्रिवि शिक्षण अस्पतालमा पाँच जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना, नेपाल प्रहरी अस्पतालमा एक जना र कीर्तिपुर अस्पतालमा एक जना उपचाररत छन्।
त्यसैगरी बी एन्ड बी अस्पतालमा तीन जना, विराट मेडिकल शिक्षण अस्पतालमा एक जना, नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा एक जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना गरी कुल ३० जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयले विभिन्न स्वास्थ्य संस्था तथा प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूसँग समन्वय गरी प्राप्त विवरण सार्वजनिक गरेको हो।
मन्त्रालयका अनुसार उपचारका लागि आएका घाइतेहरूको संख्या दुई हजार ३१६ रहेको छ। यसमध्ये दुई हजार २३८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
त्यसैगरी, अस्पतालमा आएका वा मृत्यु भएका कुल व्यक्तिको संख्या ४९ रहेको छ। स्वास्थ्य मन्त्रालयले जनाएको छ कि २०८२ असोज १२ गतेदेखि हालसम्म जेन–जी क्लिनिकमार्फत सेवा प्राप्त गरेका घाइतेको संख्या नौ जना रहेको छ।
स्वास्थ्य मन्त्रालयले नागरिकहरूलाई आवश्यक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन र घाइतेहरूको उपचारमा सबै स्वास्थ्य संस्था सक्रिय रहेको जानकारी दिएको छ।