काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको २५ करोड रुपैयाँको एकल ग्राहक सीमा हटाएपछि लगानीकर्ताहरूमा उत्साह देखिएको छ। लामो समयदेखि लगानीकर्ताहरूले माग गर्दै आएको नीति कार्यान्वयनमा आएपछि बिहीबार सेयर बजार दोहोरो अंकले उक्लिएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार २२.५९ अंकले बढ्दै २,५८२.१८ विन्दुमा बन्द भएको छ। बजार खुलेको सुरुवाती समयमा सूचकमा तीव्र वृद्धि भए पनि अन्त्यतिर गति सुस्त बनेको थियो।
आजको कारोबारमा ५ अर्ब २७ करोड ३२ लाख २१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटे पनि बजारमा उत्साहपूर्ण वातावरण देखिएको थियो।
यो दिन २०० कम्पनीको सेयरमूल्य बढेको, ४१ वटा कम्पनीको घटेको र १० वटा कम्पनीको स्थिर रहेको नेप्सेले जनाएको छ।
आजको कारोबारमा विन्ध्यवासिनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाए भने थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोरेका छन्।
विश्लेषकहरूको भनाइमा राष्ट्र बैंकको निर्णयले लगानी वातावरणमा सकारात्मक सन्देश पठाएको छ। आगामी दिनमा सेयर बजारमा तरलता वृद्धि र लगानीकर्ताको मनोबलमा थप सुधार हुने अपेक्षा गरिएको छ।