काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको एजेण्डामै देशलाई अघि बढाउने बताएका छन्।
धादिङको थाक्रे गाउँपालिकामा आयोजित पार्टी बैठकमा सम्बोधन गर्दै प्रचण्डले देश अहिले संकटपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै, माओवादी केन्द्र संविधान, गणतन्त्र र जनताको पक्षमा दृढ उभिएको बताए। उनले जेन्जी आन्दोलनलाई पार्टीले मात्र समर्थन नभई त्यसका असली प्रतिनिधि आफूहरू भएको प्रमाणित भएको दाबी गरे।
उनले भने, “निर्वाचन नहुने हो कि भन्ने आशंका राख्नुहुँदैन, निर्वाचन घोषणा भइसकेको छ, अब हाम्रो पार्टी त्यसका लागि तयारीमा लाग्नुपर्छ।” प्रचण्डले आगामी समयमा पाँच वटा पार्टीसँग एकता प्रक्रिया अघि बढाउने संकेत पनि गरे।
पार्टी नेतृत्वले जेन्जीका माग अनुसार युवाहरूलाई नेतृत्व तहमा ल्याउने नीति पनि बनाइसकेको र समयअनुसार पार्टी पुनर्संरचना गर्ने प्रतिबद्धता प्रचण्डले व्यक्त गरे। उनले जेन्जीका माग र माओवादी केन्द्रले संविधान निर्माणको समयदेखि उठाएका ऐजेन्डा एउटै रहेको बताए।