काठमाडौं । नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा अहिले निवेदन दिनेहरू बढिरहेका छन्। आइतबारमात्रै दल दर्ताका लागि ३ वटा निवेदन परेका छन्।
आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार राष्ट्रिय जेनजी पार्टी, नेपाल लिबरल पार्टी, राष्ट्रिय परिवर्तन पार्टी दर्ताका लागि निवेदन परेको हो।
जेनजी पार्टीमा हिराप्रसाद सेती अध्यक्ष रहने गरी निवेदन आएको आयोगले जनाएको छ। उक्क पार्टीको चुनाव चिह्न ‘क्रस खुकुरी’ प्रस्ताव गरिएको छ।
नेपाल लिबरल पार्टीमा गोपीलाल न्यौपानेको नेतृत्व रहने गरी निवेदन परेको छ। यो पार्टीले चुनाव चिह्न भने सिक्का राख्ने प्रस्ताव गरेको छ।
त्यस्तै अजयकुमार राईको नेतृत्वमा राष्ट्रिय परिवर्तन पार्टी पनि दर्ताका लागि निवेदन दिइएको छ।राई नेतृत्वको पार्टीले चुनाव चिह्न भने बाँसुरी प्रस्ताव गरेको छ।
आयोगमा असोज ९ गते नेपाल नागरिक पार्टी दर्ताको निवेदन परेको थियो। अधिवक्ता सुरेन्द्र भण्डारी नेतृत्वको पार्टीले चुनाव चिह्न ‘जेनजीको जुत्ता’ माग गरेको छ।
त्यस्तै दिनेश प्रसाईंको नेतृत्वमा गतिशील लोकतान्त्रिक पार्टी दर्ताको निवेदन परेको छ।
जेनजी आन्दोलन अघि नै ज्ञानेन्द्रकुमार तामाङको नेतृत्वमा ‘बलेको चिम’ चिह्न माग गर्दै उज्यालो नेपाल पार्टी दर्ताको निवेदन परेको थियो।