काठमाडौँ । देशको वर्तमान सुरक्षा अवस्थाको मूल्याङ्कन गर्न प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार उच्चस्तरीय सुरक्षा बैठक बसेको छ।
बैठकमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगालसहित चारवटै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए।
करीब दुई घण्टा चलेको बैठकमा सुरक्षा निकायका प्रमुखहरूले देशको वर्तमान सुरक्षा स्थिति, सम्भावित चुनौती र प्रतिकार रणनीतिबारे विस्तृत विश्लेषण प्रस्तुत गरेका थिए।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले भने,“सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौँ। विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने जानकारी प्राप्त भएको छ। राजनीतिक माग राख्ने हरेक व्यक्तिलाई स्वतन्त्रता छ।”
उनले थपे, “राजनीतिक मुद्दाको सम्बोधनका लागि हामीले संवादको ढोका खुला राखेका छौँ र सम्बद्ध पक्षहरूसँग वार्ता गर्नेछौँ। संवादबाटै समस्याको समाधान खोज्ने हाम्रो लक्ष्य हो।”
गृहमन्त्री अर्यालले हालको अवस्था संवेदनशील रहेको उल्लेख गर्दै सबै पक्षलाई जिम्मेवार ढंगले आफ्नो विचार प्रस्तुत गर्न आग्रह गरे।
सरकारका अनुसार पछिल्ला दिनमा विभिन्न समूहहरूले प्रदर्शन र आन्दोलनका तयारी गरिरहेका खबर प्राप्त भएपछि सुरक्षा सतर्कता बढाइएको छ।

