काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेत चढेको गाडीमा केही युवाले बेलुनमा पानी भरेर हानेका छन् । सुनसरीको कार्यक्रममा सहभागी हुन विराटनगर आएका बस्नेतलाई एयरपोर्ट गेटबाट निस्कँदै गर्दा केही युवाले रातो रङ घोलिएको पानी भरेको बेलुनले हानेको युवा संघका नेता अरुण गुरुङले बताए ।
उनीहरूले बस्नेतविरुद्व नाराबाजी गरेका थिए । उक्त घटनामा संलग्न २ जनालाई पक्राउ गरिएको मोरङकी डीएसपी कोपिला चुडालले बताइन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका- २ का १९ वर्षीय अर्पित कुँवर र १ नम्बर वडाका २५ वर्षीय सञ्जोग गौतम छन् ।
इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानका लागि बस्नेत काठमाडौंबाट बिहान गएका हुन् । बस्नेत कार्यक्रमस्थल इटहरीतर्फ लागि सकेका छन् । अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यसैबीच बस्नेतले आफूमाथि आक्रमणको प्रयासको घटना गम्भीर र निन्दनीय रहेको बताएका छन् । नेता बस्नेतले आफूमाथि आक्रमणको प्रयास गम्भीर र निन्दनीय रहेको बताए । लोकतन्त्रमा विरोधको मर्यादा हुने बताउँदै उनले शान्तिपूर्ण रुपमा आवतजावत गर्न पाउनु नैसर्गिक अधिकार रहेको बताए । यसैगरी प्रहरीको तादरुकताका कारण आफूमाथि अप्रिय घटना घट्न नपाएको भन्दै प्रहरीलाई धन्यवाद ज्ञापन गरेका छन् ।
‘विराटनगर विमानस्थलमा हामीमाथि गरिएको रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छ। लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ। शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवत–जावत गर्नु सबै नागरिकको अधिकार हो, तर आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य हुँदैन । प्रहरीको तत्परताप्रति धन्यवाद । हिंसा होइन-विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फतै देश अगाडि बढ्छ । अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य हुँदैन,’ उनले भनेका छन् ।

