अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रिय फुटबल टोलीका स्टार फरवार्ड फोलारिन बालोगुनलाई दिइएको रेड कार्ड र एक खेलको प्रतिबन्ध पुनरावलोकन गर्न आफूले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोसँग व्यक्तिगत रूपमा आग्रह गरेको खुलासा गरेका छन्।
सोमबार ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले आफूले फिफालाई कुनै निर्णय गर्न दबाब नदिएको, केवल घटनाको पुनरावलोकन गर्न अनुरोध गरेको बताए। उनले बालोगुनले कुनै गम्भीर गल्ती नगरेको दाबी गर्दै उक्त घटना दुई खेलाडी तीव्र गतिमा दौडँदा भएको सामान्य ठोक्किनु मात्र भएको टिप्पणी गरे।
यसअघि फिफाले बालोगुनमाथिको एक खेलको प्रतिबन्ध हटाउँदै उनलाई बेल्जियमविरुद्धको अन्तिम–१६ को खेल खेल्न अनुमति दिएको थियो। फिफाको यो निर्णयपछि प्रतियोगिताको निष्पक्षता र राजनीतिक प्रभावबारे व्यापक बहस सुरु भएको छ।
बालोगुन बोस्निया–हर्जेगोभिनाविरुद्धको खेलमा भिडियो सहायक रेफ्री (भीएआर) को समीक्षा पछि ‘गम्भीर फाउल’ गरेको ठहर गर्दै रेड कार्ड पाएका थिए। प्रारम्भमा मैदानका रेफ्रीले कुनै फाउल दिएका थिएनन्, तर भिडियो समीक्षा पछि निर्णय परिवर्तन गरिएको थियो।
ट्रम्पले यदि बालोगुनलाई खेल्न नदिइएको भए त्यसले विश्वकपमा ठूलो विवाद निम्त्याउने बताएका छन्। उनले खेलका रेफ्रीको निष्पक्षतामाथि पनि प्रश्न उठाउँदै उनको विगतको मूल्यांकन गर्नुपर्ने टिप्पणी गरेका छन्।
यसैबीच बेल्जियम फुटबल संघले बालोगुनलाई खेल्न दिने फिफाको निर्णयविरुद्ध औपचारिक अपिल दर्ता गरेको जनाएको छ। संघले फिफाबाट स्पष्ट निर्णय र स्पष्टीकरण नपाएको भन्दै खेलाडीको योग्यतालाई चुनौती दिएको छ।

