काठमाडौं। सरकारले दक्षिणपूर्वी एसियाका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा परेका ८३६ जना नेपालीको उद्धार गरिएको जनाएको छ।
शुक्रबार आयोजित परराष्ट्र मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले कम्बोडियाबाट ७०९ जना, म्यानमारबाट ११३ जना, लावसबाट आठ जना र थाइल्याण्डबाट छ जना नेपालीको उद्धार गरिएको जानकारी दिए।
उनले दक्षिणपूर्वी एसियामा सञ्चालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरमा ठगिन पुगेका नेपालीको उद्धार तथा यसबारे जनचेतना अभिवृद्धिका लागि नेपाल सरकार निरन्तर सम्बन्धित देशहरूसँग समन्वय र पहल गरिरहेको बताए।
प्रवक्ता पौडेलका अनुसार नेपाली दूतावासको निरन्तर अनुरोधपछि कम्बोडिया सरकारले भिसा अवधि नाघेर बसेका नेपालीको भिसा शुल्क तथा जरिवाना मिनाहासम्बन्धी विषयमा सकारात्मक छलफल गरेको छ। यस वर्ष मात्रै कम्बोडिया सरकारले ६०२ जना नेपालीको भिसा शुल्क तथा जरिवाना मिनाहा गरेको उनले जानकारी दिए।
उनले आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन आर्थिक वर्ष २०८१/८२ मा भारत, चीन, अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, जर्मनी, बेल्जियम, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) लगायत १० देशका लागि छुट्टाछुट्टै रणनीति तयार गरिएको र चालु आर्थिक वर्षमा थप १० देशका लागि रणनीति निर्माण गरी कुल २० देशमा आर्थिक कूटनीतिक रणनीति लागू गर्ने तयारी भइरहेको बताए।
परराष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन मन्त्रालय तथा राहदानी विभाग प्रतिबद्ध रहेको जनाएको छ। राहदानी सेवालाई समयसापेक्ष, भरपर्दो र प्रविधिमैत्री बनाउन राहदानी ऐन, २०७६ को पहिलो संशोधन विधेयक सर्वसाधारणको राय–सुझावका लागि मन्त्रालयको वेबसाइटमा राखिएको छ भने आवश्यक राय, परामर्श र सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पनि पेस गरिएको छ।
प्रवक्ता पौडेलले छापिएका राहदानी शीघ्र सम्बन्धित जिल्ला तथा इलाका प्रशासन कार्यालयसम्म पुर्याउन हुलाक विभागसँग असार १९ गते सम्झौता सम्पन्न भएको र सोही दिनदेखि उक्त व्यवस्था कार्यान्वयनमा आएको जानकारी दिए।
मन्त्रालयले जनमैत्री सेवा प्रवाह गर्ने उद्देश्यले नागरिकले आफू जहाँ बसे पनि नजिकको जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था लागू गर्न आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।

