काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाले आज शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा नेपाल सरकार र एडीबीबीचको करिब ६ दशक लामो विकास साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ।
प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार करिब आधा घण्टा चलेको भेटमा दुवै पक्षले पारस्परिक सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
भेटका क्रममा प्रधानमन्त्री शाहले सुशासन, पारदर्शिता र प्रभावकारी कार्यसम्पादनमार्फत नेपालले विकासको नयाँ फड्को मार्ने विश्वास व्यक्त गरेका छन्। उनले जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गर्दै डिजिटलाइजेसन तथा पर्यटकीय सडक पूर्वाधार विस्तारमा एडीबीसँग सहकार्यको आवश्यकता औँल्याएका थिए।
एडीबी अध्यक्ष कान्डाले नेपालमा विकास सहयोग अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालको आर्थिक विकास र समृद्धिका लागि एडीबी दीर्घकालीन साझेदारका रूपमा निरन्तर साथ रहने बताए।
उनले नेपालको आर्थिक क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै बलियो जनादेशसहितको युवा नेतृत्व र सुधारप्रतिको प्रतिबद्धताको प्रशंसा गरे। नेपालको विकास यात्रामा एडीबी सधैं सहयोगी रहने प्रतिबद्धता पनि उनले दोहोर्याएका छन्।

